सूर्यप्रसाद अधिकारी, असोज २०,चितवन । भरतपुर महानगरपालिकाका कवाडी व्यवसायीहरुले महानगरको ठेक्का कर प्रणालीको विरुद्धमा आन्दोलन गर्ने तयारी गरेका छन । आफुसंँग समन्वय नगरी टेण्डर प्रक्रियाबाट करौडौं रकम भुक्तान गर्नुपर्ने कर प्रणाली लागु गर्न खोजेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मासिक कर लिनुपर्ने माग गर्दै एउटै बस्तुमा दोहोरो तेहेरो कर नलिन आग्रह गरेका छन ।
पत्रकार सम्मेलनमा बोल्दै सरसफाई तथा पुनःउपयोगी वस्तु व्यवसायी संघ ( कवाडी) अध्यक्ष शंकर बहादुर क्षेत्रीले आर्थिक अवस्था धराशायी भएको बेलामा महानगरले समन्वय नगरी जबरजस्ती ठेक्का प्रणाली लाद्न लागेको बताए । ‘ अहिले न्यूनतम २ करोड ६८ लाख टेण्डरमा जानु भन्छ । हामीले यत्रो रकम कसरी एकैपटक दिन सक्छौं ।’ उनले भने । आफूहरुले मासिक रुपमा कर लिनुपर्ने माग गर्दै दुई महिनादेखि महानगरमा डेलिकेशन जांँदा पनि वास्ता नगरेको बताए । ‘यो ठेक्का प्रणालीले हामी विस्थापित र बिष पिउने अवस्थामा पुग्छौं ।’ अध्यक्ष क्षेत्रीले भने ।
यसअघि बस्तुपिच्छे कर नलिएपनि हाल आएर हरेक वस्तुको अलग्गै कर र यसको प्रतिकेजी दररेट पनि बढाएको व्यवसायीको भनाई छ ।
‘अहिले फलाममा प्रति केजी दुईरुपैया र भ्याट, प्लाष्टिकमा ५० पैसा र भ्याट, तामामा १० रुपैयांँ र भ्याट गरेको छ । हामीले आफ्नै व्यवसायको नवीकरण गर्न नसकेको बेला यत्रो कर कसरी तिर्न सक्छौं ।’ अर्का व्यवसायी भोलानाथ सापकोटाले भने ।
आफुहरुलाई राज्यले तेस्रो दर्जाको नागरिकको रुपमा हेरेको भन्दै माग सम्बोधन हुन नसके शान्तिपुर्ण आन्दोलनमा भोलिबाट जाने तयारी गरेको उनीहरुले बताए ।
संघका सचिव पुरन मल्लले कवाडी व्यवसायले हजारौंलाई रोजगार र कर संकलनमा समेत भूमिका खेलेको भन्दै व्यवसायी मैत्री कर हुनुपर्नेमा जोड दिए । ‘हामीले कर तिर्दैनौ भनेकै छैन , हामीलाई यस्तो बेलामा बाध्यता र टेण्डर नलाद्नुस मात्रै भनेका हौं ’ मल्लले भने , टेण्डर रकमलाई मासिक रुपमा तिर्न व्यवस्था मिलाईदिनुस मात्र भनेका हौं ।’ अहिले आफ्नो सामान भारत पठाउंँदा पालिका पिच्छे कर तिर्नुपरेको बताउंँदै थप मर्कामा परेको बताए । हामीले अरु जिल्लाबाट किन्दा पनि कर, यहांँबाट बेच्दा पनि कर अनि हरेक पालिकापनि कर तिर्नुपर्ने बाध्यता छ ।’ उनले भने ।
अर्का व्यवसायी सुनील गुप्ताले यो व्यवसायले राज्यलाई रोजगारी र सरसफाईमा समेत सहयोग गरेको भन्दै सम्मानपुर्वक व्यवहार गर्न आग्रह गरे । ‘हामीले फोहोर वस्तु संकलन गरेर शहर सफा मात्रै गरेका छैनौं । नियमित कर पनि कर तिरेका छौं , गुप्ताले भने, एकसाता मात्र बोतल, प्लाष्टिक , फलामहरु नउठोस्त शहरको हालत के हुन्छ ? उनले भने ।
सरकारको जवरजस्ती कर लाद्ने प्रवृत्तिले गर्दा आफूहरु भोलिदेखिनै चरणबद्ध आन्दोलनमा जाने उनीहरुले बताए ।
भरतपुर महानगरपालिकामा मात्र संघमा आवद्ध ७५ जना व्यवसायी छन । यो व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा चारहजार पांँचसयले प्रत्यक्ष रोजगारी पाएका छन ।