चितवन । स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबल माघ २८ गतेदेखि हुने भएको छ ।
चितवन भेटेरान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका खेलहरु भरतपुर १० स्थित गेष्टहाउस चौरमा फागुन ४ गते गतेसम्म चल्नेछ ।
प्रतियोगितामा नेपाल र भारतका १६ क्लब सहभागी हुनेछन् । जसमा चितवन रातो र निलो गरी दुई, नेपालका अन्य १२, भारतको देहरादुन र कोलकाता सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिने क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए । प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँचपाँच हजार प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले एक हजार ५०० प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता तयारी सुरु भएको क्लबका सचिव भरत सुवेदीले जानकारी दिए । स्व दीलिप राणाका छोरा अभिनय राणाले प्रतियोगिता सफलताको कामना गरे । स्व राणा पूर्व स्थानीय फुटबल खेलाडी हुन् ।