चितवन । राष्ट्रिय अपाङ्ग जागरण अभियान चितवनको अध्यक्षमा पुनः अम्बिकालाल श्रेष्ठ चयन हुनुभएको छ । आज(शनिवार) भरतपुरमा भएको अभियानको १८औँ साधारणसभा तथा छैटौँ अधिवेशनले श्रेष्ठको नेतृत्वमा नौ सदस्य कार्यसमिति चयन गरेको हो । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा ऋषिभक्त न्यौपाने, सचिवमा सरस्वती प्रतिमा, सहसचिवमा प्रेम प्रधान, कोषाध्यक्षमा पार्वती महत्तो चयन हुनुभएको छ । सदस्यहरुमा शान्ति महत्तो, दिलबहादुर नेपाली, श्रीधर भट्टराई,कृष्ण चापागाईं र किरण पन्त चयन भएको अपाङ्ग जागरण अभियानका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
नयाँ कार्यसमितिले पछि दुई सदस्य चयन गर्नेछ । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले अपाङ्ग मैत्री कानुन बनाउनका लागि सात वटै स्थानीय तहसंग समन्वय गर्ने बताउनुभयो । उहाँले भौतिक संरचना विस्तार गर्दा अपाङ्ग मैत्री बनाउनु पर्ने बताउनुभयो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अपाङ्गता भएका व्यक्तिहरुका लागि अस्पतालमा हेल्ड डेक्सको स्थापना गरेर उपचारमा सहज बनाउने प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले सवारी साधन अपाङ्गता मैत्री बनाउने बताउनुभयो ।