गैँडाकोट। नवलपुरको गैँडाकोटमा रहेको नेपालकै पहिलो कम्प्युटर कलेज अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड) कलेजले स्नातक तहको बीई कम्प्युटर कार्यक्रम सञ्चालनको लागि सम्बन्धन प्राप्त गरेको छ ।
पोखरा विश्वविद्यालय कार्यकारी परिषदको असोज २४ गतेको निर्णय अनुसार अक्सफोर्ड कलेजलाई ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ (बीई) कार्यक्रम सञ्चालनको अनुमति प्राप्त भएको कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले जानकारी दिनुभयो ।
पोखरा विश्वविद्यालयले अनुमति दिएसँगै अक्सफोर्डले ४८ जना विद्यार्थी सहितको बीई कम्प्युटरको नयाँ कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयको अनुमतिसँगै कलेजले ४८ जना विद्यार्थीहरुका लागि भर्ना आह्वान सुरु गरेको प्राचार्य भण्डारीले बताउनुभयो । ४८ जना विद्यार्थीहरु मध्ये ५ जना गरिब तथा जेहेन्दार विद्यार्थीले बीई अध्ययनका लागि पूर्ण छात्रवृति प्राप्त गर्ने भण्डारीले बताउनुु भयो ।
पोखरा विश्वविद्यालय अन्तर्गत रहेका ५८ वटा कलेजहरु मध्ये गैँडाकोटको अक्सफोर्ड कलेज सहित जम्मा ९ वटा कलेजले बीई कार्यक्रम सञ्चालनको अनुमति पाएका छन् । चारबर्षे बीई कार्यक्रम सञ्चालनको अनुमति सँगै मंसिरको पहिलो सातादेखि नियमित कक्षा सञ्चालनको तयारी गरिएको कलेजका सहायक प्रचार्य तिलकराम पन्थीले जानकारी दिनुभयो ।
अक्सफोर्ड कलेजले स्नातक तहमा बिसिए, बिबिए, सीभील इन्जिनियरिङ, बीइ इलेक्ट्रेकिल एण्ड इलेक्ट्रोनीक्स र ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ पढाई सञ्चालन गर्दै आएको छ । विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका १० वटा गोल्डमेडल मध्ये अक्सफोर्ड कलेजले मात्रै ८ वटा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ ।