चितवन । भरतपुरका महिलाहरुले स्थापना गरेको संस्था स्पन्दन नेपालले जिल्लाको विकट पहाडी गाउँ कालिका नगरपालिका वडा नं. १० मा पर्ने लोतंतीमा रहेको श्री आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । तीन कक्षासम्म पढाइ हुने लोतंतीको श्री आधारभूत विद्यालयका ५७ जना विद्यार्थीलाई स्पन्दनले आईतबार न्यानो कपडा ,हुडी र सुरुवाल सेट तथा कापी, सिसाकलम, इरेजर लगायतका सामान वितरण गरेको हो ।
स्पन्दनले आठ वर्षयता जिल्लाका विकट क्षेत्रमा गएर जाडो याममा न्यानो कपडा र स्टेशनरी दिँदै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा कालिका–१० का वडाध्यक्ष महेन्द्र प्रजाले यस्ता सहयोगी संस्थाहरुको साथ पाए चेपाङ गाउँ र चेपाङ समुदायको विकास हुन समय नलाग्ने बताए । उनले भने “हामी जस्तो आर्थिक रुपमा विपन्न चेपाङहरु पनि खान र लाउन पाए परिवर्तन हुने रहेछौँ नि । चेपाङ गाउँको शैक्षिक क्षेत्रमा यसैगरी सहयोगी हातहरु फैलियो भने चेपाङहरु पनि आफ्नो गुणस्तरीय जीवन जिउन सक्षम हुनेछन् ।“
स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालले आर्थिक रुपले विपन्न परिवारका बालबालिकासंँग खुशी साट्न पाएकोमा आफू अत्यन्त खुशी भएको बताइन् । “आज हामी यस्तो ठाउँमा आएर सहयोग गर्न पायौँ जहाँ बालबालिका भन्दा पनि स्पन्दन नेपाल खुशी छ । यो हाम्रो पनि खुशी हो । यहाँको कारुणिक दृश्यले साँच्चै सहयोगको आवश्यकता रहेको महसुस भयो ।“ उनले भनिन् । महिलाहरुले आफ्नो व्यक्तिगत खर्च र भान्सामा मितव्ययिता अपनाएर बचत गरेको रकमले सहयोग गरेको खनालले बताईन ।
सबैको साथ पाएमा थप सहयोग गर्न आफुहरु तयार रहेको उनको भनाई थियो । ‘पहिलो चरणमा न्यानो कपडा र स्टेशनरीका सामान वितरण गरेको छ। अब छिट्टैनै बालबालिकाका् लागि जुत्ता लिएर आउने योजना रहेको खनालले बताईन ।
स्पन्दन नेपालका शुभेच्छुक तथा समाजसेवी हिरामणी अधिकारीले कालिका नगरपालिकाको विकट गाउँमा सहयोग लिएर आएकोमा स्पन्दन नेपालको प्रशंसा गरे । उनले भने “प्रार्थना गर्ने ओठ भन्दा सेवागर्ने हातहरु नै उत्तम हुन्छन् ।“ अधिकारीले सहयोग गर्दा विकट गाउँको लक्षित वर्गलाई लक्षित गरेकोमा आफू खुशी रहेको बताए । उनले उदाहरण दिँदै भने “भारतका मोदी, अम्बानी, नेपालका डा. बाबुराम भट्टराई जस्ता होनहार र दूरदर्शी व्यक्तीहरु यस्तै विकट र अप्ठ्याराबाट उदाएका हुन् । त्यसैले यस क्षेत्रका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दछु ।“
विद्यालयका प्रधानाध्यापक भिमबहादुर तामाङले यस किसिमको सहयोगले चेपाङ समुदायको उत्थानमा ठूलो भूमिका रहने बताए । तामाङले भने “जाडोले गर्दा विद्यार्थीहरु स्कुल आउनै नसक्ने अवस्था थियो । अब त विद्यार्थीहरु नियमित आउँछन् ।“ सहरी र सुविधायुक्त ठाउँभन्दा निकै पर रहेको लोतंतीमा आएको यो सहयोग निकै महत्वपूर्ण भएको प्रधानाध्यापक तामाङले बताए । उनले विद्यालयमा थप शिक्षकहरुको पनि आवश्यकता रहेको औंंल्याएका थिए ।
यस श्री आधारभूत विद्यालयमा जम्मा दुई जना शिक्षक र एकजना सहयोगी सहजकर्ता छन् । त्यसमा पनि प्रधानाध्यापक तामाङ मात्रै प्रावि स्थायी शिक्षक हुन् । अर्की शिक्षिका सुस्मा गुरुङ राहत अस्थायी हुन् । विद्यालयमा शिशु कक्षा मा २४ जना, एक कक्षामा ११ जना, दुईमा ११ जना र कक्षा तीनमा १४ जना गरी ६० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्पन्दन नेपालका कार्यसमिति सदस्यहरु, कालिका–१० का वडाध्यक्ष, विद्यार्थी, अभिभावक शिक्षकशिक्षिका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण स्पन्दन नेपालकी सचिव बिमला दहालले गरेकी थिइन् ।