सर्बजीत थापामगर, चितवन । । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । भरतपुरमहानगरपालिकाका प्रमुख रेनु दाहालले आज एक कार्यक्रमकाबीच बिहिबार उद्धघाटन गर्नुभयो । उद्धघाटनपछि बोल्दै मेयर दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै आगामी दिनमा महानगरले कृषि क्षेत्रलाई प्राथमिकता दिने बताउनु भयो ।
भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक दूधमा अनुदान दिन सुरुवात गरेको भन्दै उहाँले कृषिका अन्य पूर्वाधार निर्माणमा महानगरपालिकाले चासो दिदै आइरहेको बताउनुभयो ।
भरतपुरले दुग्ध कृषकलाई २५ पैसाबाट अनुदान सुरु सरी हाल ३ रुपैयाँ पुराएको छ । यसबाट १० हजार कृषक लाभान्वित भएको उहांँले जानकारी दिनुभयो
‘भरतपुरमा दैनिक १ लाख लिटर दूध उत्पादन हुन्छ, उहाँले भन्नुभयो,‘ ५० हजार लिटर दूध भरतपुरमै खपत हुन्छ । ५० हजार बाहिरी जिल्लामा निर्यात गर्ने गरेको तथ्याङ्क छ । भरतपुर दूधमा अत्मनिर्भर छ ।’
महानगरपालिका प्रमुख दाहालले अबको नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिन लागेको उल्लेख गर्नुभयो । उत्पादन भनेको कृषि हो, यो सँगै सौन्दर्यकरण, सरसफाईलाई जोड दिइएको छ–उहाँले भन्नुभयो ।
प्रमुख दाहालले भरतपुर महानगरले कृषि साझेदारी कार्यक्रमलाई जोड दिदै कृषकलाई विभिन्न किसिमका यन्त्र उपकरणहरु प्रदान गरिएको बताउनुभयो ।
साझेदारीमार्फत ट्याक्टर, मिल्क ऐनालाईजर,हार्भेस्टर लगायतका उपकरणमा महानगरले साझेदारी गरेको उहाँको भनाई छ ।
कृषि क्षेत्रलाई थप सुधार गर्न यस वर्षको नीति तथा कार्यक्रममा अघिल्लो वर्षमा छुटेका महत्वपूर्ण कार्यक्रमहरु ल्याइने उहाँको भनाई थियो । उहांँले पशुपालन व्यवसायको बृद्धि गर्न पशु एम्बुलेन्स, ढुवानीका साधन तथा पशु आहाराको लागि महानगरले काम गर्ने बताउनु भयो ।
सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष न्यूरेले यस दुग्ध सहकारीलाई देशका नमुना सहकारी बनाउने लक्ष्य लिएको बताउनु भयो । पशुपालनमा आगामी तीन बर्षभित्र २ अर्बका योजना ल्याउने बताउंँदै अध्यक्ष न्यूरेले १० हजार जनालाई प्रत्यक्ष रोजगारी दिन सकिने बताउनु भयो । पशुपालन व्यवसायलाई थप व्यस्थित र व्यवसायिक बनाउन महानगरको सहयोग आवश्यक रहेको उहांँको भनाई थियो ।
प्रेमवस्ती कृषि सहकारीले दैनिक १ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ भने आफ्नै फर्म सञ्चालन गर्दै आइरहेको छ । आगामी साउनदेखि दैनिक ५० हजार लिटरको विकास पाउडर दूध उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनाश लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा संस्थाका अध्यक्ष आन्नद न्युरेको अध्यक्षतामा भएको थियो ।