भरतपुर । बेस्ट ब्रेन्स एजुकेसन एण्ड भिसा सर्भिसेसको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तसञ्चार केन्द्र भरतपुर अस्पतालको प्राविधिक सहयोगमा बेस्ट ब्रेनले कार्यक्रम आयोजना गरेको हो ।
बेस्ट ब्रेन्सको कार्यालय परिसर भरतपुर १० कटहरचोकमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेको बेस्ट ब्रेन्सकी प्रमुख कार्यकारी अधिकृत जानुका ढुङ्गानाले जानकारी दिनुभयो । मेडिकल सिटी चितवनमा हुने रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको ढुङ्गानाले बताउनुभयो ।
चितवनमा रगतको माग उच्च हुने भएकोले यस किसिमको कार्यक्रममा जोड दिईएको उहाँले बताउनुभयो । बेस्ट ब्रेन्सले सामाजिक उत्तरदायित्व बहन गर्दै यस्ता कार्यक्रममा सधैं सहकार्य गर्दै आएको उहाँको भनाइ छ ।
उता यसै कार्यक्रममार्फत नै भरतपुर अस्पतालभित्र स्थापित रक्तसञ्चार केन्द्रले समुदायबाट पहिलो पटक रगत संकलन गरेको हो । अस्पतालकै एकाइको रूपमा स्थापित रक्तसञ्चार केन्द्रले पहिलो पटक समुदायमा पनि रक्त संकलन थालेको केन्द्रका प्रमुख विष्णुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
समुदायमा जानुअघि अस्पतालभित्रै रक्त संकलन गरिएका थिए । बास्तोलाले अत्यन्त महत्त्वपूर्ण कार्यक्रममा सहकार्य गरेको भन्दै बेस्ट ब्रेन्सप्रति धन्यवाद व्यक्त गर्नुभयो । भरतपुर १० कटहरचोकस्थित बेस्ट ब्रेन्सले उच्च शिक्षाका लागि युके, अष्ट्रेलिया, क्यानडा, युएसए, न्युजिल्याण्ड, दुबैलगायतका देशमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ ।