भरतपुर । लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवनको क्षेत्र नम्बर दुई नेपाली काँग्रेसका उमेदवार उमेश श्रेष्ठले घरदैलो अभियान थालेका छन् । उनले भरतपुर महानगरपालिकाको वडा नम्बर ४ बाट मतदाता भेटघाट सुरु गरेका हुन् ।
त्रिचोकमा रहेको भगवतीको मन्दिरमा आशीर्वाद थापेर चुनावी अभियान सुरु गरेका छन् । मन्दिरका पूजारीले उनलाई टीका तथा प्रसाद दिएर विजयको आशीर्वाद दिएका हुन् । श्रेष्ठसंँगै प्रदेश सभा सदस्यका उमेदवार उत्तम जोशीले पनि मतदातासँको भेटघाट अघि बढाएका हुन् । दुवै उम्मेदवारले मन्दिरमा दर्शन गरेर चुनावको प्रचार प्रसारमा लागेका थिए ।
आज भरतपुर महानगरको वडा नम्बर ४ का विभिन्न टोलमा पुगेर दुवै उम्मेदवारले मतदातालाई भेटेका थिए । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरू घरदैलोमा हिँडेका थिए ।
उम्मेदवारहरूले संविधान जोगाउनका लागि गठबन्धनको जीत आवश्यक रहेको भन्दै मतदाताको ध्यानाकषर्ण गराएका थिए । राज्यमन्त्री श्रेष्ठले आफू विकासको लागि आएको हुनाले बोलेर नभई काम गरेर देखाउने बताए । उनले जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै प्रदेश सभा सदस्य अन्तर्गत चितवन क्षेत्र नम्बर २ (ख) का गठबन्धन उम्मेदवार काँग्रेसका उत्तम जोशीले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । आफू जनताको समस्यासँग भिजेको बताउँदै उनले विकास नै आफ्नो पहिलो एजेण्डा भएको बताए ।
घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नारायण प्रसाद दाहाल, नेपाली काँग्रेसका चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, जिल्ला उपसभापति शालिग्राम शर्मा, सचिव ध्रुव पोखरेल, समानुपातिक उम्मेदवार विनु रायमाझी, लगायतका नेता सहभागी थिए । त्रिचोकबाट सुरु भएको घरदैलो अभियानमा नेताहरू लंकु भगवती टोल, कटहर चोक, पिपलचोक लगायतका क्षेत्रसम्म पुगेका थिए ।