चितवन । नारायणी नदी किनारमा फोहोर पुरिरहेको फोटो भाइरल भइरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर ४ को लंकु भगवती टोल विकास संस्थाले भने फोहोर विस्थापन गर्न शिवलिङ्ग स्थापना गरेको छ । भरतपुर ब्यारेक पछाडि बसोबास गर्ने टोलवासीहरुले सोमबार बिहान पण्डित बोलाएर विधिपूर्वक पूजाआजा गरी नहर छेउमा शिवलिङ्ग स्थापना गरेका हुन् ।
भरतपुर ४, त्रिचोकबाट ब्यारेक पछाडिको बाटोहुँदै बेलचोक निस्कने क्रममा नारायणी लिफ्ट सिँचाईको नहरमाथि बनाइएको कल्भर्टको दायाँबायाँ रातिको समयमा अज्ञात व्यक्तिहरुले फोहोर फाल्दै आएका थिए । अहिले शिवलिङ्ग स्थापना गरिएको ठाउँ कल्भर्टको मुखनिर नहरछेउमा छ । यसको ठीक अगाडि बाटोपारि बटुवाले पिसाब फेर्न थालेपछि दुर्गन्ध बढेको थियो ।
लंकु भगवती टोल विकास संस्था र लंकु भगवती महिला समूहको आह्वानमा शिवलिङ्ग स्थापना र बिसौनी निर्माणको काम भइरहेको टोलवासी कलाकार प्रकाश थापाले जानकारी दिए । भुइँ ढलान गरेर सानो स्तम्भ उठाई त्यसैमाथि शिवलिङ्ग र गणेशको मूर्ति स्थापना गरिएको उनले बताए । शिवलिङ्ग अगाडि राख्न सानो बसाहको मूर्ति आफूले निर्माण गर्न लागेको कलाकार थापाले जानकारी दिए ।