गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड ) कलेजले पुन : अन्तरराष्टिय अवार्ड प्राप्त गरेको छ । जापानको राजधानी टोकियोमा आयोजित एक विशेष समारोहमा अक्सफोर्ड कलेजलाई “बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३” बाट सम्मान गरिएको हो ।
कलेज रिर्डस नामक नेपालको अंग्रेजी मासिक पत्रिकाले अक्सफोर्ड कलेजलाई बेष्ट इन्जिनियरिङ कलेज अफ द इएरबाट सम्मान गरेको कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले जानकारी दिनुभयो ।कलेजको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, राष्ट्रिय तथा अन्तराष्ट्रिय छवी, नतिजा , विश्वविद्यालयको र्यांकिङ्गं, सिट क्षमता अनुसार विद्यार्थी भर्नाको अवस्था लगायतका दर्जन बढी सूचकहरुलाई आधार बनाएर अवार्ड प्रदान गरिएको हो ।
अर्वाड वितरण समारोहका प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी र सांसद टिएल चौधरीले संयुक्त रुपमा कलेजका प्राचार्य भण्डारीलाई अवार्ड प्रदान गर्नुभएको हो । इन्जिनियरिङ पढाई हुने नेपालका ५३ वटा कलेजहरु मध्ये ५२ वटा कलेजहरु भन्दा अव्बल ठहरिदै अक्सफोर्डले सो अवार्ड प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ ।
कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले “बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३ ” ले अक्सफोर्ड परिवारलाई गुणस्तरीय शिक्षा लाई निरन्तरता दिनका लागि थप जिम्मेबारी बढेको बताउनुभयो । अवार्ड प्राप्तिको श्रेय इन्जिनियरिङ डिर्पाटमेन्टका प्राध्यापक र विद्यार्थीहरुलाई जाने भन्दै उहाँले सबै बधाईको पात्र भएको बताउनु भयो ।
अक्सफोर्ड कलेजले स्नातक तहमा बिसिए, बिबिए, सीभील इन्जिनियरिङ, बीइ इलेक्ट्रेकिल एण्ड इलेक्ट्रोनीक्स र ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ पढाई सञ्चालन गर्दै आएको छ । विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका १० वटा गोल्डमेडल मध्ये अक्सफोर्ड कलेजले मात्रै ८ वटा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ ।