चितवन । मंगोल नेसनल अर्गानाइजेसन दलले यही फागुन २१ गते भरतपुरमा ‘मंगोल जागरण तथा आम भेला’ गर्ने भएको छ । अर्गानाइजेसनको भरतपुर महानगरपालिका नगरसभाले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै भेलाको बारे जानकारी दिएको हो ।
नगर सभाको आयोजनामा यही फागुन २१ गते भरतपुर वडा नम्बर २० स्थित माइलीचोक चन्द्रनगरमा हुन लागेको ‘भेलाले मंगोलबासीको इतिहास, योगदान तथा अधिकारको बारेमा बिशेष छलफल गरिने जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अर्गनाईजेसन, भरतपुर नगर सभाका अध्यक्ष भीम बहादुर घलेले मंगोल समुदायलाई राज्यपक्षले नै विभेद गरेको उल्लेख गर्दै मंगोलको हक अधिकार र पहिचानको लागि भेला गर्न लागिएको बताउनु भयो । मंगोल समुदायको इतिहासको आदिमकालदेखिनै ठूलो भुमिका र योगदान रहेकोले मंगोल समुदायलाई एकीकृत गर्न पनि भेलाको आयोजना गर्न लागिएको उहांँले बताउनु भयो ।
भेलामा अर्गनाईजेसनका केन्द्रिय सभा सचिव सन्तोष तामाङ्ग , प्रवक्ता रिन्छेन तामाङ्ग, केन्द्रिय सभा सदस्य प्रविन थापा मगर , कल्पना चौधरी लगायतको सहभागिता रहने कार्यक्रम रहेको छ ।
कार्यक्रममा बोल्दै भरतपुर नगरसभाका प्रवक्ता मेकना तामाङ्गले मंगोल नेसनल अर्गनाईजेसन दल संविधानत दर्ता भएपनि
निर्वाचन आयोगले विभेदकारी निर्णय बारे प्रष्ट्याउन, देशमा हुन गईरहेको उपनिर्वाचन सम्बन्धमा छलफल गर्न र आदिवासी जनजाति र दलित भनेर बहुसंख्यक जनतालाई राज्यबाट आयोग गठन गरी मुलबासी मंगोलहरुलाई अनागरिक बनाएको भन्दै यसलाई प्रष्ट्याउन भेला गर्न लागिएको बताउनु भयो ।
भरतपुर नगरसभाका सचिव सुरेश लामाले मंगोलबासीको योगदानको चर्चा गर्दै मंगल मुलबासीको नाममा गलत ब्याख्या गरिदै आएको बताउनु भयो । २०७२ को संविधानमा समेत मंगोलबासीको हक अधिकार , पहिचान , परिभाषालाई उल्लेख नगरिएको भन्दै सबै मंगोलबासीलाई एक गर्न पनि भेला आबश्यक रहेको बताउनु भयो । भेलाले मंगोलबासी बैचारिक क्रान्तिको बिकास हुने यसको गरिमा र पहिचान संरक्षण हुने लामाको भनाई छ ।भेलामा ३०० देखि ५०० प्रतिनिधिहरु सहभागी हुने आयोजकको अनुमान छ ।