चितवन । चितवनका युवा तथा चितवन सेवा समाज अन्तरराष्ट्रिय समन्वय समितिका सदस्य सुवास सिलवालले नेपालको उच्च हिमाल आइसल्याण्ड पिकको सफल आरोहण गर्नुभएको छ । उहांँले १४ दिन लगातार कठिन यात्रा पुरा गरि ६१८९ मिटर उच्च हिमाल “आईसल्याण्ड पिक” को चुचुरो चुम्न सफल हुनुभएको हो ।
चुचुरोमा पुगेर उहांँले उक्त हिम शिखरमा चितवन सेवा समाजको झण्डा व्यानर फहराउनु भएको समन्वय समिति नेपाल परिवारका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।यो सफलताले समग्र चितवनबासी एवं संस्थाको गरिमा र शिर उंँचो रहन मदत पुगेको अध्यक्ष गौतमको भनाई छ । अध्यक्ष गौतमले सिलवालको आगामी दिन थप उर्जा र गतिशिल बनोस भन्ने कामना समेत गर्नुभयो ।
सफल आरोहण पछि प्रतिक्रिया दिदै आरोही सिलवालले आफ्नो सानैदेखिको अग्लो हिमाल चढ्ने ईच्छा पुरा भएको बताउनुभयो । ‘यो मेरो सानैदेखिको सपना र ईच्छा थियो, उहांँले भन्नुभयो, यसबाट हाम्रो संस्थाको शिर मात्र नभई देशकै नाम राख्न सफल भएको छु भन्ने लागेको छ ।’ आगामी दिनमा आफूले सगरमाथाको चुचुरो सम्म चुम्ने योजना रहेको सिलवालले सुनाउनुभयो । शिखर चढ्न साथ , सहयोग र हौसला दिने शुभेच्छुक , संस्थाप्रति उहांँले आभार प्रकट गर्नुभयो ।
उहांँलाई बाग्लुङ्गका चर्चित फोटोपत्रकार सन्दीप शर्मा र संखुवासभा मकालु गाउंँपालिका वडा नम्बर २ का साहसिक माउण्टेन क्लाइम्बर पेम्बा शेर्पाले लिड गर्नु भएको थियो ।