सर्बजीत थापामगर । नाबालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गरेको आरोपमा दुई महिला पक्राउ परेका छन । पक्राउ पर्नेमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिका न्यु फेमिली होटल एण्ड लजका सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङ्ग रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता भेषराज रिजालले आरोपित दुई महिलालाई फाउ गरिएको र यौनजन्य क्रियाकलापमा लगाइएका दुई नाबालिका र एक महिला सहित तीन जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो ।
उद्धार गरिएका महिलाहरुलाई संरक्षण केन्द्रमा राखिएको छ । उद्धार गरिएका दुई नाबालिकाको उमेर १५ वर्ष रहेको छ भने एक महिलाको उमेर ३० वर्ष रहेको छ ।
होटल सञ्चालक ढकालका श्रीमान भरत भनिने भक्तविलास घिमिरे फरार रहेको प्रवक्ता रिमालले बताउनु भयो । फरार रहेका घिमिरेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
चितवन जिल्ला अदालतबाट सात दिनको म्याद लिएर घटनाको अनुसन्धान गर्ने काम भइरहेको रिजालले जानकारी दिनुभयो । होटलमा काम लगाइदिन्छु भनि विभिन्न प्रलोभन देखाएर नाबालिकाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि मानव बेचविखनविरुद्धको मुद्धा दर्ता गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।