जेनेभा । लोकतान्त्रिक गणतन्त्र कङ्गोका करिब दश लाख मानिसहरू यस वर्ष आफ्नो घरबाट विस्थापित भएका संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार बताउनुभएको छ ।
अप्रिलमा कङ्गोको भ्रमण गर्नुभएको टर्कले संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई मध्यअफ्रिकी देश बढ्दो हिंसा, शोषणकारी नियम र कानूनको कमजोर शासनजस्ता समस्याबाट ग्रसित भएको जानकारी दिनुभएको थियो ।
उहाँले कङ्गोमा मानव अधिकार उल्लङ्घनका पीडितहरूको सङ्ख्या बढ्दै गएको जसमध्ये ८५ प्रतिशत दुर्व्यवहार द्वन्द्व प्रभावित पूर्वी क्षेत्रमा रहेको बताउनुभएको थियो । त्यसैगरी उहाँले विभीन्न सशस्त्र समुहलाई बढ्दो दुर्व्यवहारको लागि दोषी ठहराउनुभएको छ ।
“सशस्त्र समुहले अपहरण गर्ने, बन्दी बनाउँने र महिला एवं युवतीलाई यौन दासत्वको अधीनमा राख्ने गरेका छन् । धेरैको बलात्कारपछि हत्या गरिएको छ । सबै मामिलाहरू निश्चित रूपमा रिपोर्ट गरिँदैनन् । यो अत्याचार हो”, टुर्कले बताउनुभयो ।
“मानवीय स्रोतका अनुसार यस वर्ष ९ लाख ४० हजार भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्, आन्तरिक रूपमा विस्थापित मानिसहरूको कुल सङ्ख्या ६४ लाख भन्दा बढी पुगेको छ”, उहाँले भन्नुभयो । रासस