चितवन । अर्किड मावि भरतपुरद्वारा आयोजित अर्किड गायन स्टार–२०८१ को उपाधि सोभित शाहले जितेका छन् । यससँगै अनिष्का थापा, सुदृष्टि अधिकारी, एलिना डी महतो क्रमशः फस्ट रनरअप, सेकेन्ड रनर अप र थर्ड रनरअप भएका छन् । कार्यक्रममा सेरेल न्यौपानेले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।
गीत र सङ्गीतमा कलिला प्रतिभालाई स्थान दिने उद्देश्यले अर्किड माविद्वारा आयोजित यो विद्यालयको पाचौँ शृङ्खला रहेको शिक्षिका प्रतीक्षा श्रेष्ठले बताइन् । उनका अनुसार छनोट चरण, प्रतियोगी चरण, सास्कृतिक गायन चरण र अन्तिम प्रतिस्पर्धासहित यो प्रतियोगिता चार चरणमा सम्पन्न भएको थियो ।
विश्वमणि पहारी र प्रतीक्षा श्रेष्ठ निर्णायक रहेको अन्तिम प्रतिस्पर्धाको सञ्चालन गायक जिबी सुनारले गरेका थिए । अन्तिम प्रतिस्पर्धामा थप रौनक बनाउन कक्षागतरूपमा सांस्कृतिक परिकार प्रदर्शनी फुड फेस्टिवलसमेत आयोजना गरिएको थियो । जातीगत पहिचान झल्काउने परिकार प्रदर्शनी प्रतियोगिताले मौलिकपनको जगेर्नासहित पाक कलाको अभ्यास पनि गराउने अपेक्षा विद्यालयले राखेको शिक्षक हरिराम रेग्मीले जानकारी दिए ।
कुल १६ वटा स्टल रहेको फुड फेस्टिवलमा जातीय पहिचान झल्कने परिकार बनाइएका थिए । स्थानीय र अभिभावकको समेत सहभागी कार्यक्रममा विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो ।