चितवन । लायन्स क्लव अफ चितवन लंकूद्वारा दिव्यनगर स्वास्थ्य चौकीमा आज एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ अन्तर्गत भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा २५० जनाको आँखा परीक्षण गरिएको हो । तीमध्ये ३६ जनालाई मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ। साथै शिविरमा निःशुल्क औषधि तथा चश्मा समेत वितरण गरिएको थियो।
कार्यक्रमका सभाध्यक्ष लायन डा. मनोज कंडेलले लायन्स क्लव सामाजिक सेवामा सधैं अगाडि रहेको उल्लेख गर्दै आगामी दिनमा अझ व्यापक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
प्रमुख अतिथि भरतपुर महानगरपालिका वडानम्बर २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनालले आँखा जस्तो संवेदनशील अङ्गको स्वास्थ्य जाँचका लागि गरिएको यो प्रयास सराहनीय भएको बताउनुभयो। उहाँले वडास्तरीय स्वास्थ्य सेवा प्रभावकारी बनाउन यस्ता सहकार्य आवश्यक रहेको समेत उल्लेख गर्नुभयो।
मुख्य अतिथि भरतपुर आँखा अस्पतालका चिकित्सक डा. सुवास सापकोटाले आँखा सम्बन्धी समस्या समयमै पहिचान गर्न सकेमा धेरै जटिलता रोक्न सकिने जानकारी दिनुभयो। उहाँले समुदायमै पुगेर जाँच गर्ने अभियानले धेरैलाई प्रत्यक्ष लाभ पुगेको बताउनु भयो ।
कार्यक्रममा वडासदस्य सबित्री कोइराला ढकाल, क्लबका संस्थापक अध्यक्ष भानुभक्त सापकोटा, पूर्व अध्यक्षहरू रामजी पौडेल, नारायण प्रसाद सापकोटा, भिम शर्मा खरेल, कृष्ण शर्मा कंडेल, उपाध्यक्ष रमेश खरेल, कोषाध्यक्ष ब्रह्मानन्द दाहाल लगायतको सहभागिता थियो।




